Monday, June 6, 2022

Conflict in political parties and their management

 

पार्टी भित्रका द्वन्द्वहरु र ब्यबस्थापन

-    डा. बिष्णु राज उप्रेती

 

१.परिवेश: द्वन्द्व अध्यनको विधामा द्वन्दलाई सधै खराब र दबाउनु पर्ने विषयको रुपमा मानिदैन l द्वन्द्वलाई सकारात्मक र सृजनात्मक रुपमा हर्ने मान्यता पनि स्थापित छ l केवल द्वन्द्वको हिंसात्मक स्वरुपलाई खराब मानिन्छ l

द्वन्दको सृजना मानिसको मन-मष्तिस्क भित्रबाट सृजना भई दुई पक्ष मार्फत समाजमा देखिने भएकोले यसको सृजना बुझाईको भिन्नता, ज्ञानको स्तरको भिन्नता, शैली र व्यवहारको भिन्नता, अन्याय भयो भने महसुस भएर, विज्ञान र प्रविधिले ल्याएको परिवर्तन आत्मसात गर्न नसकेर वा प्रविधि प्रति अभ्यास हुन नसकेर हुन्छ l द्वन्द्व सृजनाको भौतिक पक्ष चाही शक्ति, सत्ता (पद) र स्रोत माथि को पहुँच, नियन्त्रण र एकाधिकार नै हो l

 

द्वन्द्व मानिसको मन-मस्तिष्कबाट सृजना हुने भएकोले यथार्थमा द्वन्द्व बिनाको समाजको परिकल्पना पनि गर्न सकिन्न l त्यसैले द्वन्द्वलाई समाजको अभिन्न अंग र समाज रुपान्तरणको सूचांकको रुपमा समेत लिइन्छ l यस अर्थमा समाजमा प्रविधिको विकास, चेतनाको बेग र जनचाहनाले ल्याउने परिवर्तनलाई आत्मसात गर्न नसक्दा वा यसलाई रोक्न खोज्दा ठुलै र हिंसात्मक द्वन्द्व सृजना हुनसक्ने सम्भावनाहरु रहन्छ l त्यसैले भन्ने गरिन्छ परिवर्तनलाई जवर्जस्ती रोक्नु भन्दा यसलाई आत्मसात गरी, सृजनात्मक रुपले व्यबस्थापन गर्दै जानुको विकल्प हुदैन l तर कहिलेकाहीँ इगो (अहं) को कारण यो यथार्थलाई महसुस गर्न नसक्दा सामान्य र सरल तरिकाले जित-जितमा परिवर्तन गर्न सकिने द्वन्द्व पनि हार-हारमा परिणत हुने सम्भावना रहन्छ l

 

२.      इगोको सृजना र व्यवस्थापन:

इगोको बारेमा धेरै भै विभिन्न सिद्धान्त नै प्रतिपादन भएका छन l यसै सन्दर्भमा जेन लेभिन्जर भन्ने विख्यात मनोवेत्ताले “अधिनायकवादी प्रबृत्ति (अथोरिटारीएनिज्म) को सिद्धान्त बनाए जसमा अधिनायकवादी व्यक्तित्व र अधिनायकवादी चिन्तन बीच सवल अन्तर सम्बन्ध रहने र एकले अर्कोलाई सघाउने तथा यो अन्तरसम्बन्ध ले नै अहंवादी, आत्मरक्षात्मक (सेल्फ प्रोटेक्टिभ) र व्यक्तिवादी अहंकारयुक्त व्यक्तिव विकास गर्ने बारे चर्चा गरेका छन l यस्तो प्रवृति या व्यक्तित्व भएको व्यक्तिले आफुले मन नपराउने व्यक्ति प्रति क्रोधित अभिव्यक्ति दिने वा दुष्ट व्यवहार देखाउने गर्दछ l त्यसैगरि रेने गेरार्ड भन्ने मनोबेत्ताले यो बारेमा अरु प्रष्ट पार्दै एक व्यक्ति वा पक्षले अर्को व्यक्ति वा पक्षलाई आफ्नो प्रभावमा पार्न सधै कोसिस गर्ने र त्यो सम्भव नभए अर्को पक्षलाई चुनौती दिने, वा घृणा फैलाउने, गालीगलौज गर्ने र यो व्यवहार चक्रीय रुपमा बढ्दै जाने उल्लेख गरेका छन l

 

यस्तो चरित्रमा आफ्नो कमि कमजोरीको जिम्मेवारी अर्को पक्षमा देख्ने, सधै आफु असुरक्षित भएको महसुस गर्ने र बेचैनिपूर्ण व्यवहार विस्तारै बानी (ह्याबिट) कै रुपमा विकास हुने हुन्छ l यसै परिवेशमा भामिक भोल्कान भन्ने मनोविदले आफ्नो स्वाभिमानमा आंच पुग्यो भने अर्को पक्षलाई दोष दिने र त्यो प्रमाणित गर्न अरु दोषहरु खोजि गर्ने चरित्र बारे खुलासा गरेकाछन l विवादमा रहेका व्यक्तिहरु जब आफु कमजोर, निरास वा असहाय बन्दै जान्छन त्यतिबेला उनीहरु सबै दोष अर्को पक्षमा देख्ने, उसलाई गालिगर्ने र अफवाह फैलाउने (साइकल अफ भर्वल एव्यूसिव रिटालियासन) चक्रमा प्रवेश गर्दछन l र यो अवस्था जटिल बन्दै जादा एक पक्षले अर्को पक्षलाई जसरी पनि (गलत र अस्वीकार्य विधिको प्रयोगबाट समेत) बिस्थापित गर्न वा सिध्याउन खोज्छन l तर यथार्थमा यस्तो अवस्थाको परिणाम भनेको दुवै पक्षको हार नै हो l

 

मारिना आभ्रानोभ भन्ने मनोविदले भनेकी छन “ मानिस जब आफु ठिक अर्को बेठिक, आफु अपरिहार्य, सज्जन, विशेष र अर्को पक्ष खराब र असक्षम भएको देख्छ वा जब समाजका विचार निर्माताहरु आफ्नो भन्दा फरक मतलाई स्वीकार्दैन अर्थात् आफु मात्र ठिक र अरु बेठिक भन्ने पुष्ट्याई गर्न खराब, असान्दर्भिक र प्रश्नवाचक तर्कले पुष्ट्याई गर्न खोज्छन त्यति बेला समाजमा गहिरो समस्या सृजना हुन्छ l अहिले नेपालका राजनीतिक पार्टीहरु भित्र र पार्टीहरु बीच देखिएको विवाद र तनाव तथा वौद्धिक जगतको एक तप्का मा देखिएको चिन्तन को सैद्धान्तिक विश्लेषण यसै खण्डमा उल्लेख भएको मान्यताबाट गरिनु पर्दछ l

 

३.      राजनीतिक पार्टीहरु भित्र र पार्टीहरु बिचका द्वन्दहरु:  

किन सबै राजनीतिक दलहरु भित्र र दलहरु बीच विवाद, तिक्तता र द्वन्द्व सृजना भै रहेकाछन त ? यसको मूल कारण बुझ्न अघिल्लो खण्डको सैद्धान्तिक विवरणले सहयोग गर्ने छ l यी पार्टीमा देखिएको तनावको प्रमुख कारणमा मुख्य त पद, मान-सम्मान, शक्ति माथि पहुँच र नियन्त्रणको अति महत्वकान्क्षा र अहंमा बेरिएको हिनतावोध, अपमान वा बेवास्ता भएको महसुस नै हो l शक्ति माथिको पहुँच र स्रोतमाथिको नियन्त्रण ले एक पटक शक्ति र सत्तामा पुगेको व्यक्ति सधै त्यहाँ रहन प्रयत्न गर्ने र त्यसरी शक्ति र सत्ता माथि नियन्त्रण गर्न सकिएन भने वा आफु भन्दा अर्को व्यक्ति सक्षम, प्रख्यात र प्रभावकारी देखियो भने उसलाई बिस्थापित गर्न सबै प्रकारका उपायहरु; सामदाम र दण्डभेदको रणनीति प्रयोग गरेको देखिन्छ l

 

यो शक्ति र पद (चाहे राजकीय होस् चाहे पार्टीको प्रमुख) मा पुगेपछि त्यसबाट प्राप्त हुने अधिकार र शक्तिले सृजना गर्ने अहंले सधै आफु नै यो पदको लागि उपयुक्त लाग्ने र त्यसको लागि जस्तो सुकै व्यवहार गर्न सक्ने उदाहरण जताततै देखिन्छ l उदाहरणको लागि क्यामरुनका प्रधानमन्त्री पाउल विया ४५ बर्ष देखि प्रधानमन्त्री छन भने इक्वाटोरियल गिनियाका राष्ट्रपति टोडेरो भावासोगो ४१ बर्ष देखि, कंगो गणतन्त्रका राष्ट्रपति जेनिस न्युगेसो ३७ बर्ष देखि, कम्बोडियाका प्रधानमन्त्री हुन सेन ३६ बर्ष देखि, युगान्डाका राष्ट्रपति योवरी मुसेभिनी ३५ बर्ष देखि पदमा थिए र उनीहरु आफु मात्र शासन को लागि सक्षम भएको तर्क गरिरहेका छन l नेपालकै राजनीतिक पार्टीहरुको प्रमुखहरुको पार्टीमाथिको लामो समय देखि एकछत्र नियन्त्रणले पनि देखाउछ l उनीहरु शक्तिप्रति कति केन्द्रित छन भन्ने एउटा स्वाभाविक प्रश्न उठ्छ के नेपालका राजनीतिक पार्टी नेतृत्व गरिरहेका व्यक्ति भन्दा ती पार्टीहरुमा अरु सक्षम व्यक्ति नै छैनन् त ? जब कुनै व्यक्ति लगातार यसरि पदमा रही रहन्छ  उस्मा अहं, महत्वाकांक्षा, शक्तिको अभ्यास र दुरुपयोग बढ्दै जान्छ l

 

के पार्टीका द्वन्द्व समाधान हुनै नसक्ने खालका हुन् र ?

अवश्य हैन l यथार्थमा द्वन्द्वरत पक्षहरुले कुन रणनीति लिन्छन त्यसैले यो निकर्यौल गर्दछ l उनीहरुले सम्बन्धलाई पूर्ण बेवास्ता गरि उदेश्यमा मात्र केन्द्रित रहेर जसरि पनि आफ्नो उदेश्य पुरा गर्ने चाहना राखेमा उनीहरुले भिडन्तको (कन्फ्रन्टेस्नल) रणनीति अपनाउछन र यो अवस्थामा जसले जेजे सक्छ त्यहि गर्दछ र परिणाम हार-जित र अझ हारहारकै अवस्थामा पुर्याउछ l यसको बिपरित द्वन्द्वरत पक्षहरुले सम्बन्धलाई पनि प्राथमिकता दिई समाधान खोज्छन भने उनीहरुले सहमतीय लेनदीन सहितको सम्झौता (कम्प्रोमाइज) को रणनीति लिन्छन र समस्याको समाधान खोज्छन l उनीहरु अझ अगाडी बढी सम्बन्ध पनि सुदृढ गर्ने र उदेश्य पनि हासिल गर्ने उदेश्य राखेमा सहकार्य (कोलावरेसन) को रणनीति लिन्छन र यसको परिणाम पनि जित-जित नै हुन्छ l त्यसैले अहिले चाहे कांग्रेस पार्टी भित्र होस् या नेकपा (एमाले) भित्र होस् या संघीय समाजवादी पार्टीहरु भित्र देखिएका या माओवादी केन्द्र र एमाले बिचको द्वन्द्व होस् यी सबै समाधान हुने सवालका द्वन्द्व हुन् र जित-जितकै परिणाम सहित समाधान हुने खालका छन l समस्या केवल यी पार्टीहरुका बरिष्ठ नेताहरुमा रहेको अहँ र शक्ति, पद र स्रोत नियन्त्रण गर्ने महत्वकांक्षा मात्र हो l यो अवस्था बाट अलि अलग रही समस्याको समाधान खोज्ने हो भने समाधान सरल छ l तर अहिलेकै जस्तो अहं र सत्ता तथा शक्ति नियन्त्रण गर्ने उदेश्यबाट अगाडी बढ्दा भने यी द्वन्द्वको समाधान कठिन देखिन्छ l  

No comments:

Post a Comment