नोबेल शान्ति पुरस्कार र नेपाल
डा.विष्णु राज उप्रेती
१.पृष्ठभुमिः
सन् २०२५ को नोवेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ६–१३ मा भयो । नेपालमा खासै चर्चा नभए पनि प्रत्येक बर्ष ६ वटा बिधा (भौतिक शास्त्र, रसायन शास्त्र, फिजियोलोजी वा मेडिसिन, साहित्य, शान्ति र अर्थशास्त्र) मा डिसेम्बर १० मा भब्य समारोह बिच प्रदान गरिने यो बिषय बिश्वका बैज्ञानिकहरु र साहित्य, अर्थशास्त्र र शान्तिको क्षेत्रमा कार्यरत प्रध्यापक, अनुसन्धानकर्ताहरुको निकै चाखको बिषय हो किनकी यो पुरस्कार पाउनुलाई बिश्वमै निकै सम्मानित मानिन्छ । दशौ बर्षको आफ्नो क्षेत्रको बिशिष्ठ योगदानको धेरै वटा कसीबाट पार भई प्राप्त हुने यो पुरस्कार राशी पनि ११ मिलियन डेनिस क्रोनर (लगभग १० मिलियन डलर) हालसम्मकै सबैभन्दा ठूलो मध्यको एक अर्थात यति चर्चित र महत्वपूर्ण पुरस्कारको बारेमा पनि नेपालमा खासै चर्चा नहुनु चाँही बिज्ञान–प्रबिधि, अनुसन्धान र सामाजिक योगदानको सम्मान गर्ने संस्कृति नभएरै हो । तैपनि सम्भवत नेपालको इतिहासमै पहिलो पटक काठमाडौं बिश्वबिद्यालयका तथ्यांक शास्त्रका प्रध्यापक किशोर खनालको सकृयता तथा संयोजन र रिपोटर्स क्लबका ऋषि धमलाको सहयोगमा यहि कार्तिक १ गते ६ वटै बिधाका बरिष्ठ ब्यक्तित्वहरु मध्यका ६ जना राखी ब्यापक बहस र चर्चा भयो । यो बहसको केन्द्रबिन्दुको प्रश्न के नेपालले यो पुरस्कार पाउन सक्दैन भन्ने थियो । मेरो अध्ययन र जानकारीको बिधा शान्ति पुरस्कार भएकोले म यही बिधामा केन्द्रित रही केही चर्चा गर्ने छु ।
२. नोवेल शान्ति पुरस्कार के हो ?
सन् १८३३ मा स्विडेनमा जन्मेका बैज्ञानिक, इन्जिनियर तथा ब्यापारी अल्फ्रेड नोवेलले १८६६ मा डाइनामाईट (जुन बम बनाउन, बिस्फोटक पदार्थ बनाउन, सैनिक प्रयोजनको लागि प्रयोग हुन्छ) पत्ता लगाएपछि यसको जर्मन, रुस, युरोप र पछि संसारभर ब्यापक प्रयोग बढेपछि उनी खरबपति भए । डाइनामाईटको प्रयोगले निर्माण र खानी उद्योगको क्षेत्रमा क्रान्ति नै ल्यायो भने युद्ध र बिध्वंसको पनि कारक बन्यो ।
उनको आबिष्कारले बिश्वमा यति हलचल ल्याएपछि र यसको प्रयोग हत्या, हिंसा, युद्धमा समेत हुन थालेपछि उनलाई अव आफूले समग्र मानव समुदायको लाभको लागि काम गर्ने ब्यक्तिलाई प्रोत्साहन गर्न र त्यो कामले मानव समुदायको हितमा थप काम गर्ने प्रेरणाको लागि सन् १९८६ मा इटलीको सानरेमो शहरमा आफू मर्नु भन्दा १ बर्ष अगाडी अर्थात सन् १९८५ मा इच्छापत्र मार्फत ५ वटा नोवेल पुरस्कारको स्थापना गरेका थिए सन् १९०१ म पहिलो पटक बितरण गरिएको थियो र सन् १९६८ मा अर्थशास्त्रको नोबेल पुरस्कार स्थापना गरी सन् १९६९ देखि बितरण गर्न थालिएको थियो । शुरुमा यो पुरस्कारको राशी १५०७८२ स्विडिस क्रोनर अर्थात त्यतिबेला लगभग १० लाख डलर थियो ।
नोवेल शान्ति पुरस्कार चाँही खासगरी बिश्व मानव समुदायको लाभको लागि काम गर्ने ब्यक्तिलाई देश–देश बिच सुमधुर सम्बन्ध राखी भातृत्व बिकास गर्ने, सैन्य बल घटाउने वा कटाउने, शान्ति प्रबर्धन गर्ने, मानवीय कल्याणकारी गतिबिधी गर्ने ब्यक्ति वा संस्थालाई बर्षेनी दिईन्छ ।
अरु ५ वटा पुरस्कार स्विडेनमा तर शान्ति पुरस्कार नर्वेले गर्नुको कारण त्यतिबेला स्विडेन र नर्वे छुट्टाछुट्टै देश भए पनि एउटै राजा अन्तर्गत संचालित र स्विडेनको तुलनामा नर्वे शान्तिमा बढि प्रतिबद्ध भएकोले अल्फ्रेड नोवेलको चाहना अनुरुप नै नर्वेले संचालन गर्ने गरी ब्यवस्था गरिएको थियो ।
सन् १९०१ देखि हालसम्म १०६ वटा पुरस्कार बितरण भएको र १४३ बिजेताले पाएको जसमा ११२ ब्यक्ति र ३१ वटा संस्था रहेका छन् । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ म अन्तर्राष्ट्रिय रेडक्रस संस्था खडा गरी शान्तिमा योगदान गरेकोमा स्विस नागरिक हेनरिक डंकानले पाएको थियो । हालसम्म यो शान्ति पुरस्कार ३१ जना सरकार/राष्ट्र प्रमुखले प्राप्त गरेका छन् । यि मध्ये अमेरिकाका ४ जना राष्ट्रपति (रुजभेल्ट, विल्सन, कार्टर र बाराक ओवामा) ले पाएका छन् ।
३. शान्ति पुरस्कार छनोट र बिधिः
यो पुरस्कार (निशस्त्रीकरण, शान्ति सम्झौता/प्रबर्धन, मानवीय सहायता, मानव अधिकार, न्याय, स्वतन्त्रता, मेलमिलाप) लगायत क्षेत्रमा महत्वपूर्ण काम गरेका ब्यक्ति र संस्था दुबैलाई दिइन्छ । यो पुरस्कार छनोटको पहिलो आधार नै शान्ति प्रबर्धन, द्वन्द्व समाधान, मानवीय संकट सम्बोधन, बिश्व भातृत्व सुदृढ कुटनीति, शान्ति सम्मेलन, सामाजिक कल्याण हो । यो पुरस्कार छनोट गर्न नर्वेको संसदले ६ बर्षको लागि छानेका ५ जना (जो सार्वजनिक नै हुदैनन्) को समितिले छान्छ । यही समितिले लामो बिधि र प्रकृया मार्फत छनोट गरी पुरस्कार घोषणा गर्दछ ।
४. कसरी छनोटमा सहभागी हुनेः
यो शान्ति पुरस्कारको लागि आफैले आवेदन हाल्न पाउँदैन । माथि उल्लेखित क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका ब्यक्तिहरु मध्य आधिकारिक नोमिनेशन फर्म भर्नु पर्दछ । योग्यता पुगेका कुनै पनि ब्यक्ति प्रस्ताव गर्न सम्बन्धित देशका सरकार र संसदहरुले, राजनीतिशास्त्र, इतिहास, कानून बिषयका प्रध्यापकहरु, अन्तर्राष्ट्रिय अदालत, पूर्व शान्ति पुरस्कार बिजेताहरु, नर्वेजियन नोवेल कमिटिका सदस्यहरु, शान्ति र मानव अधिकार संस्थाका प्रतिनिधी, नर्वेजियन नोवेल कमिटि सदस्य, संयुक्त राष्ट्र संघ साधारण सभाका सदस्यहरुले प्रत्येक बर्ष १ फेब्रुअरी भित्र सम्भाब्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्छन् । प्राप्त सिफारिस नामको छानवीन र अनुसन्धान गरी संसदबाट गठन भएको ५ सदस्यीय छनोट समितिले शान्ति पुरस्कार पाउने उम्मेद्वारको नाम अक्टोबर पहिलो हप्ता घोषणा गर्दछ । पुरस्कार बितरण चाँही अल्फ्रेड नोवेलको मृत्यु भएको दिन अर्थात १० डिसेम्बरमा ओस्लो सिटी हलमा एक बिशेष समारोहमा गरिन्छ । यो छनोट प्रकृया छनोट समितिका सदस्यहरु सबै ५० बर्षसम्म गोप्य राखिन्छ ।
५. नोवेल शान्ति पुरस्कारको आलोचनाः
यो पुरस्कार सम्मानित हुँदा हुँदै पनि निकै बिबादित पनि छ । बिबादको मूल कारण राजनीतिक उद्देश्य केन्द्रित भई बितरण गरिने, दिने बेला नै नभएको मानिसलाई दिईने (जस्तै बाराक ओबामा अमेरिकी राष्ट्रपति चुनिना साथ शान्तिमा खासै काम नगरिकनै दिएको) भनि ब्यापक आलोचना भएको, भियतनाम युद्धमा हेनरी किसिञ्जरलाई युद्धबिराम हुनासाथ दिएको र पछि युद्धबिराम भंग भई भिषण युद्ध भएको) बिबादित मानिसलाई दिईने (चिन केन्द्रित राजनीति उन्मुख भई दलाई लामालाई दिएको भन्ने आरोप, इजरायलका प्रधानमन्त्री इतज्याक रबिन र सिमन परेजलाई १९९४ मा प्यालेस्टाईन द्वन्द्वमा ओस्लो शान्ति सम्झौतामा भूमिका खेलेको भनिएको तर इजरायलले प्यालेस्टाईन माथि अन्याय कायम राखेको) गलत शैली, असम्बन्धित बिषयमा पनि पुरस्कार दिईएको (अमेरिकी पूर्व राष्ट्रपति अलगोर र आईपिपिसिलाई २००७ मा बिज्ञानसँग सम्बन्धित जलबायु परिबर्तनमा पुरस्कार दिएकोमा आलोचना भएको), अपारदर्शी निर्णय प्रकृया (५० बर्ष निर्णय प्रकृया गोप्य राख्ने अभ्यासको तिब्र आलोचना भएको), शान्तिको राम्रो परिभाषा नै नगरी जता पनि जोडेर पुरस्कार दिईने (जस्तै आईपिसीसी/अलगोरलाई दिंदा निकै आलोचना), शक्ति केन्द्रित (सरकार प्रमुख, राष्ट्र प्रमुखलाई दिईने हालसम्म ११२ ब्यक्तिलाई दिएको पुरस्कारमा ३१ जना सरकार/राष्ट्र प्रमुख, अरु थुप्रै बिदेश मन्त्री र शक्तिशाली ब्यक्तिलाई दिएको भनि आलोचना) अनि अमेरिकाका मात्रै ४ जना राष्ट्रपतिहरु (चियोडर रुजबेल्ट– १९०६, उडरो विल्सन– १९१९, जिमि कार्टर– २००२ र बाराक ओबामा– २००९ लाई यो पुरस्कार दिईएको) सानै बच्चा उमेरमा शान्ति सम्बन्धि ठूलो कामै नगरी दिईएको (पाकिस्तानकी १७ बर्षकी मालाला युसुफलाई २०१७ मा बच्चाको शिक्षामा योगदानको लागि भनि भारतको कैलाश सत्यार्थीसँग पुरस्कार दिईएको तर त्यो योगदानबारे धेरै आलोचना भएको) । यसरी यो पुरस्कारको बारेमा थुप्रै र सान्दर्भिक आलोचना पनि भएको पाईन्छ । अर्कोतर्फ शान्तिको लागि यथार्थमै लडेका नेल्शन मण्डेला उनीसँग शान्ति सम्झौता गर्न तैयार भएका र एफ.डब्लु क्लार्कले १९९४ मा, मदर टेरेसा (१९९७ मा), कोलम्बियाका राष्ट्रपति जुवान मानुयल सान्तोष (२०१६ मा) जस्ता यथार्थमै शान्ति स्थापनामा प्रष्ट देखिने र प्रभावकारी काम गरेका ब्यक्तिहरुले पनि यो पुरस्कार पाएका छन् भने ग्लास्नोष्ट (खुल्लापन र पारदर्शिता) र पेरेस्त्रो इका (पूनर्संरचना) को अवधारणा प्रबेश गराई रसिया बिभाजित गराएको आरोपित मिखायल गोर्वाचोवलाई १९९० को शान्ति पुरस्कार दिर्ईएको थियो । यो बर्ष अर्थात सन् २०२५ को नोवेल शान्ति पुरस्कार भने भेनेजुयलाकी बिपक्षी दलकी नेतृ मारि कोरीना माचाडोलाई तानासाहसँग प्रजातान्त्रिक अधिकारको लागि लडेको भनेर दिईएको छ ।
६. के कुनै नेपाली नोवेल शान्ति पुरस्कार पाउन योग्य छन् ?
सन् १९०१ देखि २०२५ सम्म दिईएका ३१ वटा संस्था र ११२ जना ब्यक्तिहरु र उनीहरुले गरेको काम र शान्ति स्थापना र प्रबर्धनमा पुर्याएको योगदानको मात्रा, गुण, शैली, चरित्र र प्रभाव हेर्दा नेपालका दर्जनौ ब्यक्ति र थुप्रै संस्थाहरु नोवेल शान्ति पुरस्कारको लागि योग्य देखिन्छ । स्व.राजा बिरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव, बि.पी.कोईराला र गणेशमान सिंहको प्रजातन्त्र स्थापनाको संघर्ष, गिरिजा प्रसाद कोईराला र पुष्पकमल दाहालको १० बर्षे सशस्त्र द्वन्द्वको शान्ति सम्झौताद्वारा अन्त्य, एकल महिलामा काम गरेको वुमेन फर ह्युमेन रार्ईट– सिंगल वुमेन गु्रप/लिलि थापा, बालबालिकाको क्षेत्रमा सिविन, द्वन्द्वको समयमा मानव अधिकार रक्षामा योगदान पुर्याएको इन्सेक, तृणमूल तहमा शान्तिको काम गरेको नागरिक आवाज लगायत लगभग नेपालका एक दर्जन संस्थाहरु र एक दर्जन जति ब्यक्तिहरुलाई शान्ति स्थापना र प्रबर्धन, द्वन्द्व समाधान, मानव अधिकार संरक्षणको क्षेत्रमा पुर्याएको योगदान अहिले सम्म पुरस्कार बिजेता १४३ मध्य आधा जतिको स्तरकै छ । तर नेपालको संस्कृति सामुहिक भावनाबाट, राम्रो काम गरेका संस्था वा ब्यक्तिलाई प्रबर्धन गरौ भन्ने खालको छैन । हामी मेहेनत गरेर उनीहरुको लागि उम्मेद्वार सिफारिस गर्ने गर्दैनौ, आफैले गर्न मिल्दैन । नेपालको शान्ति सम्झौता २००६ नोभेम्बरमा भएपछि २००७ फेबु्रअरी १ भित्र नेपालले (संसद वा अरु आधिकारिक ब्यक्तिहरुले मेहेनत साथ प्रमाण जुटाएर आवेदन भरिदिएको भए सायद गिरिजा प्रसाद कोईराला र प्रचण्डले पाउन पनि सक्थे । त्यो बर्ष यो पुरस्कार नै शान्तिसँग भन्दा पनि बिज्ञानसँग जोडिएको आइपिसीसी/अलगोरले पाए । यो उम्मेद्वारको सिफारिस गर्दा निकै मेहेनत साथ पर्याप्त प्रमाणहरु जुटाएर गर्नुपर्ने र हाम्रो संस्कार नै डाह, रिस, आक्षेप लगाउने भएकोले अरुको लागि किन गर्ने भन्ने चिन्तनले हुन सक्छ कसैले सिफारिस गर्दैन ।
बेला बेला बिचलित र निरास भई हामीले नोवेल शान्ति पुरस्कार पाउनु पर्ने त भन्नु हुन्छ तर २००७ पछि भने उहाँहरुले यो पुरस्कार पाउने सम्भावना छिण हुदै गएका थिए किनकी उहाँहरुले शान्ति सम्झौताको पालना गर्नु भएन । त्यसैले पछिल्लो समयमा आएका प्रचण्डका भनाईले खासै अर्थ नराखे पनि २००६ नोभेम्बरमा शान्ति सम्झौता हुनासाथ राम्रा प्रमाणहरु सहित शैली पुर्याएर आबेदन गर्न सकेको भए सायद पाउन पनि सकिन्थ्यो होला ।
७. निश्कर्षः
नोवेल शान्ति पुरस्कार अरु बिधाको भन्दा भिन्न छ र अरु बिधाको तुलनामा सहज पनि छ । नेपाली ब्यवस्थापन बिज्ञ, अर्थशास्त्री, समाजशास्त्री र इन्जिनियरहरु (डा.प्रचण्ड प्रधान, डा.गणेश शिवाकोटी, डा.उज्जवल प्रधान, इन्जिनियर आशुतोष शुक्ल) लगायतको टोलीले लामो समयसम्म किसानले ब्यवस्था गरेका साना सिंचाई प्रणालीको दिगोपना अनुसन्धानमा, नेपालको सामुदायिक वन ब्यवस्थापन, भारतको स्थानीय पानी बितरण प्रणाली, जापान, अमेरिका, केनिया लगायतका देशमा स्थानीय स्तरमा भएका माछापालन, जंगल, सिंचाईको स्थानीय स्तरको ब्यवस्थापनको संस्थागत ब्याख्या र सैद्धान्तिकरण गरी इलिनोर आट्रेमले सन् २००९ को अर्थशास्त्रमा नोवेल शान्ति पुरस्कार पाएकी थिईन । नेपालबाट शान्ति, अर्थशास्त्र र साहित्यमा भौतिक शास्त्र, रसायन शास्त्र र मेडिसिन भन्दा अलि छिटो र अलि बढि सम्भावना देखिन्छ । तर राज्यको यो सवालमा ध्यान जाने हो भने अनुसन्धानको वातावरण बनाउन राष्ट्रिय अनुसन्धान नीति, अनुसन्धान ऐन, संस्थागत संरचना र उपयुक्त बजेट बिनियोजन (कुल ग्राहस्थ उत्पादनको १–२% सम्म) गर्ने हो भने नेपालका नेपाल भित्रै काम गरेका बैज्ञानिकहरुले पनि केही दशकमा नोवेल शान्ति पुरस्कार पाउन सक्छन् । तर दुर्भाग्य हाम्रा शासक प्रशासकहरुलाई यो बारेमा सोच्ने र आत्मसात गर्ने फुर्सद नै छैन ।
नेपाल सरकारले प्रत्येक २–२ वा ३–३ बर्षमा दिने गरी यि ६ वटै बिधामा २–२ करोड राशीको पुरस्कारको प्राबधान राखे पनि यसले पछिको लागि तैयार गर्थ्यो, बैज्ञानिकहरुलाई काममा लाग्ने प्रोत्साहन हुन्थ्यो र गुणस्तरीय अनुसन्धानको संस्कार बस्थ्यो बर्षको १२ करोड भनेको राज्यको लागि कुनै ठूलो रकम हैन । तर यसले मात्र चाँही पुग्दैन । अनुसन्धान, नीति, नियम, संस्थागत संरचना र बजेट बिनियोजना नै अहिलेको आवश्यकता हो ।
No comments:
Post a Comment